पश्चिम बंगाल सरकारको ‘हाम्रो गाउँ हाम्रो समाधान’ अन्तर्गत द्वारे सरकारको शिविर खरसाङ नगरपालिका क्षेत्रको लागि बिहीबार आयोजन गरिएको थियो। उक्त शिविर खरसाङको नगरपालिकाको वार्ड नम्बर 4 मा रहेको मध्य डुमारामको त्रिशुली संघ भवनमा सम्पन्न भएको थियो। शिविरमा खरसाङ महकुमा शासक आइएएस बिन्दाबासिनी तेजा दिपक लगायत अन्य अधिकारीहरु उपस्थित रहेका थिए। यस शिविरमा पछिबाट क्षेत्रीय सभासद श्याम शेर्पाले पनि “हाम्रो गाउँ, हाम्रो समाधान” क्याम्पको भ्रमण निरीक्षण गरेका थिए। “हाम्रो गाउँ, हाम्रो समाधान” अन्तर्गत पश्चिम बंगाल सरकारले प्रत्येक बुथलाई 10 लाख रुपियाँको अनुदान राशि प्रदान गर्ने गरेको छ, जसबाट गाउँको विभिन्न समस्याहरु समाधान हुने लक्ष्य राखिएको छ। यो शिविरमा खरसाङ नगरपालिका क्षेत्रका बुथ संख्या 189, 190 र 191 लाई लिएर आयोजना गरिएको थियो। यस शिविरमा वार्डवासीहरूले आ-आफ्नो क्षेत्रमा रहेका विविध समस्याहरूबारे तत्काल रुपमा अधिकारीहरूलाई जानकारी गराएका थिए।
पश्चिम बंगालभरि गत 2 अगस्तदेखि थालिएको अनि आगामी 3 नोभेम्बरसम्म सञ्चालन हुने यो बुथ-स्तरीय शिविरमा पहाडका आम-नागरिकहरूलाई अनिवार्य रूपमा सहभागी हुन आह्वान गरिएको छ।











